लागोस- आतङ्कवादको आरोपमा हिरासतमा रहँदै आएका नाइजेरियाली पत्रकार जोन्स अविरीलाई स-सर्त धरौटीमा रिहा गर्न आदेश भएको मङ्गलबार अदालतका अधिकारीले बताएका छन्।
नाइजेरियाको चर्चित साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशक पत्रकार अविरीले धरौटीको सर्त पूरा नगर्दासम्म हिरासतमा नै राख्न पनि अदालतले भनेको छ।
न्यायाधीश इजिओमा ओयुक्वाको एकल इजलासले सोमबार पत्रकार अविरीविरूद्धको मुद्दामाथि सुनुवाइपछि फैसला दिएकोे हो।
अबिरीले स्थानीय तेल कम्पनीहरूलाई पत्राचार गरी उनीहरूलाई आक्रमण गर्ने धम्की दिएको आरोप लागेको थियो। जसको उनले निरन्तर खण्डन गरिरहेका छन्। अविरीले नाइजर डेल्टामा रहेका स्थानीयलाई तेल कम्पनी तथा सरकारले बेवास्ता गरेकोमा निरन्तर लेखेका कारण आफूलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।
अदालतले अविरीलाई २ लाख ८२ हजार अमेरिकी डलर बराबरको धरौटी सुनाउँदै यसका लागि ग्यारेन्टी बस्ने जमिनदार उपस्थित गराई धरौटी जम्मा गर्ने सर्तमा रिहा गर्न आदेश दिएको हो। धरौटीका लागि जमिनदारलाई सरकारी अधिकारी समक्ष नल्याउँदासम्म उनले हिरासतमा नै बस्नुपर्ने हुनेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।