गोरखा- जिल्लामा पछिल्लो वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ। यो वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले घटेको हो। विगतका वर्षहरुमा राम्रो उत्पादन हुँदै आएको सुन्तला पछिल्ला वर्षमा विभिन्न रोग तथा कीराको प्रकोप साथै आवश्यक खेती व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास आउँदै गएको हो।
जिल्लाको पूर्वी क्षेत्र बुढीगण्डकीको आसपास क्षेत्रमा मुख्य आम्दानीको स्रोत सुन्तला भए पनि विभिन्न प्रकारका जीवाणु (भाइरस) का कारण सङ्क्रमण भएपछि बोट पहेँलिदै जाने, पात खस्ने, फल नलाग्ने समस्या देखा परेको जिल्ला कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए।
कार्यालयले अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको अनुमान गरेको छ। अघिल्लो वर्ष जिल्लाभर ४ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष ४ मेट्रिक टन सुन्तला सुन्तला उत्पादन हुँदा १९ करोड आम्दानी भएको थियो। भने यस वर्ष गत वर्षको तुलनामा सुन्तालाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा करिब २१ करोड आम्दानी हुने जिल्ला कृषि कार्यलयको भनाइ छ।
उत्पादन घटे पनि २ करोड बढी आम्दानी
यस वर्ष सुन्तला प्रतिकिलो ८० देखि १२० रूपैयाँसम्म बिक्री भएको छ। जिल्लामा सुन्तलाको पकेट क्षेत्र मानिँदै आएको मनकामना, भुम्लिचोक, फुजेल, दर्वुङ क्षेत्रमा सुन्तलाको उत्पान कम भएको हो।
देउरालीमा भने यस वर्ष ५० प्रतिशतले सुन्तलाको उत्पादनमा वृद्धि भएको छ। गत वर्षको तुलनामा २५ प्रतिशत सुन्तला फलेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ। सिँचाइ सुविधा नपुग्दा, फुल फलेको बेला पानी नपर्नु र भदौसम्म पनि दाना पर्दा राम्रो उत्पादन नभएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठको भनाइ छ।
गोरखाको मनकामना र ताङलीचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुन्छ। यस्तै, देउराली, धुवाकोट, ताप्ले, ताक्लुङ, बक्राङ, मिरकोट, हर्मी, आँपपिपल, हंसपुर, नारेश्वर लगायत क्षेत्र सुन्तलाका पकेट क्षेत्र मानिन्छन्।
कृषि कार्यालयका अनुसार, ९ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको गोरखामा करिब ५ सय किसानले यही खेतीबाट जिविकोपार्जन गर्दै आएका छन्।
लमजुङ, तनहुँ, गोरखा लगायतका जिल्ला सुन्तलाका लागि उत्तम मानिन्छ।
मनकामना भन्दै बिक्री
गोरखा मनकामनाको सुन्तला जिल्लामा मात्र नभई नेपालभर नै प्रख्यात छ। मनकामनाका सुन्तला ठूलो र गुलियो हुने भएकाले यो सुन्तलाले प्रख्याति पाएको किसान बताउँछन्।
मनकामनाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापारीले अन्यत्र फलेका सुन्तलालाई मनकामनाको भन्दै बिक्री गर्ने गरेका छन्। तर मनकामना क्षेत्रमै बर्सेनि सुन्तला उत्पादनमा गिरावट आएको छ।
सुन्तलाको बोट टुप्पोबाट मर्ने समस्याले किसान हैरान भइसकेका छन्। २० वर्षदेखि सुन्तला खेती गर्दै आएका मनकामनाका किसानहरु सुन्तला उत्पादन घट्दै गएकामा निराश भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।