दाङ- चुनावी एजेन्डा बनेको यहाँको हवाइ सेवा पुनः सञ्चालनमा आउने भएको छ। विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेन्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा निजी विमान कम्पनीको सहकार्यमा पुन: विमान सञ्चालन हुने भएको हो। पुस २३ गतेदेखि हप्तामा दुई पटक उडान हुने भएको हो।
यहाँको विमानस्थल २०१६ मा निर्माण भएको थियो। राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि तुलसीपुर–काठमाडौँ हवाइ सेवा अनिश्चित भएको थियो।
पहिले हवाइ सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाइ सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो। तत्कालका लागि सातामा आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो। तुलसीपुरदेखि काठमाडौँसम्म सिधा उडान हुने सहमति भएको पनि प्रमुख पाण्डेले बताए। 'अहिलेलाई काठमाडौंबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको छ,' उनले भने।
हाल दाङ-काठमाडौका लागि भाडा रु ६ हजार ६ सय र काठमाडौ-दाङका लागि ७ हजार भाडा तोकिएको छ।
तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हुँदा पनि नियमित सेवा नहुँदा स्थानीयनेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।