काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्धिपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि पहल गरिदिन आग्रह गरे। उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिए।
‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ। यसमा चिनियाँ लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ,’ मन्त्री पुनले भने।
चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए।
मन्त्री पुनले राजदूतसँगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन्। यहाँ किन गर्न सकिरहेका छैनन्। समस्या के हो जसका कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौं।’
जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याहरुको बारेमा जानकारी दिंदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताए।
उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ 'ए' जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागि समन्वय गरिदिन आग्रह गरे।
मन्त्री पुनले दुधकोशी जलविद्युत आयोजनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागि थप २ खर्ब अपुग भएकोले चिनियाँ सहयोगको लागि पहल गरिदिन आग्रह गरे।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागि चीनले पहल गरिरहेको जानकारी दिइन्। उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारीसमेत दिइन्।
राजदूत यान्छीले भनिन, ‘चीन नेपालको मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ। त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ।’
चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाइ थियो।
भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु ४ वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलब्धि हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको धारणा राखिन्।
मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।