पोखरा- अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औं पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु भएको छ।
‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ सुरु भएको महोत्सव पोखराको शहीदचोकदेखि खहरे (डिहिकोपाटन)सम्मको करिब तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ। महोत्सव पुस १७ गतेसम्म चल्नेछ।
पर्यटकीय नगरी पोखराको मुटु लेकसाइडमा व्यावसायिक हकहितको संरक्षण तथा संवर्द्धनका साथै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा विकास गर्ने मूल लक्ष्यका साथ यो महोत्सव आयोजना गर्दै आएको महोत्सव संयोजक तथा रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए।
महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले पोखरा धेरै पर्यटकीय सम्भावनायुक्त स्थल भएको बताउँदै यस किसिमका महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गरे।
प्रदेशसभा सदस्य राजीव पहारी, दीपक कोइराला, बिन्दुकुमार थापा, क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा लगायतले महोत्सवको सफलताका लागि शुभकामना दिएका थिए।
सो अवसरमा नेपालका सातै प्रदेशका सांस्कृतिक झाँकी देखाइएको थियो।
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटन खेलकुद, वृत्तचित्र प्रदर्शनी, बाल उद्यान, ख्यातिप्राप्त कलाकार सविन राई एन्ड दि फारोअ ब्यान्ड, दि स्याडोज ब्यान्ड, मन्त्र, नवीन के भट्टराई एन्ड अतृप्त ब्यान्डका सांगीतिक प्रस्तुति रहने जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।