सोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्। दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लू हाउसले सोमबार उक्त जानकारी दिएको छ।
ब्लू हाउसका प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेका बताएका हुन्। सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ।
यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रीकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिए।
मुन र ट्रम्पबीच तीन महिनाभन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको हो। यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो।
ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गरेका थिए। दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जी-२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउने छन्।
दक्षिण कोरियाली राष्ट्रपति मुनको निमन्त्रणामा ट्रम्पले भ्रमण गर्न लागेको ब्लू हाउसका प्रवक्ताले जानकारी दिए। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।