काठमाडौं- भारतमा धार्मिक असहिष्णुता बढेको भन्ने अमेरिकी प्रतिवदेनमाथि भारतले खण्डन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले एक वक्तव्य जारी गर्दै अमेरिकाले तयार पारेको सो रिपोर्ट अस्वीकार गर्ने संकेत गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले विश्वको धार्मिक स्वतन्त्रता सम्बन्धनमा तयार पारेको प्रतिवदेनमा भारतको दक्षिणपन्थी सरकारकै नेतृत्वमा धार्मिक असहिष्णुता बढेको उल्लेख गरेपछि त्यसले विवाद सिर्जना गरेको छ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवदेन ‘रिपोर्ट अन इन्टरनेसनल रिलिजियस फ्रिडम’मा भनिएको छ, ‘हिन्दू समूहले सन् २०१७ मा मुस्लिम आधारित तथा दलितका विरुद्ध हिंसा, धम्की र उत्पीडनको प्रयोग गरेको थियो ताकि धर्ममा आधारित राष्ट्रिय पहिचानलाई बलियो बनाउन सकियोस्।’
तर, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जोड दिएको छ कि कुनै पनि देशलाई आफ्नो रेकर्डको आलोचना गर्ने अधिकार छैन।
दुई देशबीचको विवादले भारत भ्रमणमा आउन लागेका अमेरिकी विदेश मन्त्रीको भ्रमणलाई समेत अप्ठ्यारोमा पारेको छ।
अमेरिकी विदेश मन्त्री पोम्पेओ मंगलबार दुई देशबीचको सम्बन्धलाई अझैँ बलियो पार्ने गरी भारत भ्रमणमा आउँदैछन्।
तर, उनी आउनुअघि नै उक्त प्रतिवेदन, व्यापार सीमा शुल्क, डाटा संरक्षण, भारतीयलाई अमेरिकी राहदानी र रुसबाट भारतले हतियार किनेको विषयले यसमा जटिलता थपिदिएको छ।
अमेरिकी प्रदिवेदनमा गाई संरक्षणको दाबी गर्ने समूह (पवित्र हिन्दू)ले मुस्लिम र दलितलाई आक्रमण गरेको उल्लेख छ। त्यस्तै सन् २०१४ मा मोदी शक्तिमा आएदेखि नै धर्मान्तरणको नाममा इसाइलाई पनि तारो बनाइएको प्रतिवदेनमा उल्लेख छ ।
‘भारतीय सरकारको तथ्यांकले दुई वर्षमा साम्प्रदायिक हिंसा निकै बढेको संकेत गरे पनि मोदी प्रशासनले समस्यालाई सम्बोधन गरेको छैन,’ प्रतिवदेनमा भनिएको छ।
संविधानले संरक्षण गरेका नागरिक अधिकारमाथि कुनै पनि विदेशी संस्था र सरकारलाई बोल्ने अधिकार नभएको भन्दै भारतको विदेश मन्त्रालयले उक्त प्रतिवदेन अस्वीकार गरेको छ।
‘धर्म निरपेक्ष पहिचान, सभैबन्दा ठूलो प्रजातन्त्र, सहिष्णु र समावेशीसहितको बहुलवादी समाजप्रतिको लामो समयदेखिको प्रतिवद्धतामा भारत गर्व गर्दछ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले एउटा वक्तव्यमा भनेका छन्,‘भारतको संविधानले अल्पसंख्यकसहित सबै नागरिकको मानवअधिकारको सुनिश्चितता गरेको छ।’
अमेरिकाले चीनको प्रतिद्वन्द्वी बनाउने उदेश्यसहित भारतसँगको समबन्धलाई जोड दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी दुबैले उनीहरुबीच राम्रो सम्बन्धलाई ‘हाइलाइट’ गर्ने गरेका छन्।
यद्यपि नयाँ दिल्लीलाई व्यापार सहुलियतबाट हटाएपछि अमेरिकाले गत हप्ता २८ भारतीय वस्तुमाथि भारी सिमा शुल्क लगाएको थियो।
पोम्पेओ ओसाकामा हुने जी-२० सम्मेलनमा मोदी-ट्रम्प वार्ताको वातावरण तयार पार्न आफ्नो दिल्ली भ्रमणलाई उपयोग गर्न चाहान्छन्।
यो पनि : नेपालको धर्म परिर्वतन विरुद्धका कानुनप्रति अमेरिकाको असन्तुष्टि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।