काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ।
प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५ सय ७१ युनिट विद्युतमा २८ करोड ४५ लाख ३४ हजार ७ सय ९३ युनिट विद्युत् बिक्री गरेको छ। पाँच करोड ३८ लाख ७० हजार ७ सय ७९ युनिट विद्युत् खेर गएको पाइएको छ।
आर्थिक वर्ष ०७३/७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३ सय ८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८ सय १३ युनिट विद्युत् बिक्री गरेको थियो। सो अवधिमा पनि १५ करोड ८३ लाख ७० हजार ५ सय ७० युनिट विद्युत् खेर गएको पाइएको छ। चुहावटमा मात्रै करोडौं मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ।
इनरुवा र रंगेलीमा सबैभन्दा बढी चुहावट
प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ।
प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो। पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन्। समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७.६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ।
प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५.९२ बिन्दुमा झारेको छ। विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७.६५ प्रतिशत चुहावट हुने गरेको छ।
प्राधिकरणका अनुसार, दुहवी वितरण केन्द्रमा ८.९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ। विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ।
चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिए। उनका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा ३९ करोड रुपैयाँ उठेको छ।
यस्तै, विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ। चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै २३ लाख तीन हजार २ सय २७ रुपैयाँ उठेको छ। यस्तै, प्राधिकरणले ४८३ वटा हुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।