राजस्थान- आइतबार भारतको राजस्थानस्थित बार्मर क्षेत्रमा अपरान्ह करिब ४ः३० बजे हावासहित भएको वर्षाका कारण स्थानीय एक ‘पान्डाल’ भत्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।
'धार्मिक सभाका लागि निर्माण गरिएको उक्त अस्थायी संरचना (टेन्ट) भत्किएर १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन्,' स्थानीय प्रहरी अधिकारीले बताएका छन्। घटनामा अन्य २५ जनाभन्दा बढी गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक सभामा भएको उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन्।
प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्विटर पेजमा प्रधानमन्त्रीले लेखेका छन्, 'बार्मरमा पान्डाल भत्केर दुःखद् घटना घटेको छ। यस समय घटनामा ज्यान गुमाउने शोकाकुल परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु साथै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु।'
यसैगरी राजस्थानका मुख्यमन्त्री अशोक गेलटले घटनाले आफूलाई स्तव्ध बनाएको जनाएका छन्।
उनले घटनाबारे छानबिन समिति बनाई अनुसन्धान गर्न आग्रह गर्दै राज्यले मृतक तथा घाइतेका परिवारलाई यथासम्भव सहयोग गर्ने विश्वास व्यक्त गरे। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।