प्योङयाङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन्।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय समाचार एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन्।
पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टि जनाएका समाचारमा उल्लेख गरिएको छ। उनले भनेका छन्, 'पत्रमा गज्जबको विषयवस्तु लेखिएको छ।'
किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको बताइएका बताइएको छ। तर, उनले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी दिएका छैनन्।
त्यसैगरी, अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन। त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन।
गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ।
उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।