काठमाडौं- काठमाडौंको कपनमा भएको नीरा पाण्डेको हत्याबारे अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ। प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन्।
कपनमा भाँडा पसल सञ्चालन गर्ने नीराको हत्या रहस्यमय भएको भन्दै प्रहरीले गम्भीरता देखाएर उच्चस्तरीय अनुसन्धान समिति बनाएको हो।
वैशाख ७ गते दिउँसो कपनस्थित सरस्वतीनगरको आफ्नै पसलमा उनी मृत भेटिएकी थिइन्। प्रहरीले उक्त घटनामा विभिन्न कोणबाट अनुसन्धान गरेको थियो।
घटना भएको एक सातासम्म कुनै सुराक फेला नपरेपछि प्रहरीले अनुसन्धान समिति गठन गरेको हो। उक्त घटनालाई लिएर संसदमा समेत सरकारको आलोचना हुने थालेपछि प्रहरीले प्राथमिकता दिएर समिति गठन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।