काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई यथासक्य चाँडो विजयीको प्रमाणपत्र दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपाको राजनीतिक समितिको बैठकले रेशम चौधरीको विषयमा कानुनी उपचार खोज्ने भन्दै उनलाई चाँडो प्रमाणपत्र दिन आयोगलाई अपिल गरेको राजपा अध्यक्ष मण्डलका एक नेता अनिल झाले बताए।
टीकापुर घटनाको मुख्य अभियुक्त मानिएका चौधरी प्रहरीको फरार सुचीमा छन्। उनी मंसिर २१ को प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट झन्डै २१ हजार मतान्तरले विजयी भएका थिए।
वारेसनामा मार्फत उम्मेदवारी दिएका चौधरीलाई निर्वाचन आयोगले वारेसमार्फत प्रमाणपत्र नदिने भन्दै आफैं उपस्तिथ हुन भनेको छ।
सर्वोच्च अदालतले समेत अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने भन्दै चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र पाउनुपर्ने भनी परेको रिट खारेज गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।