एजेन्सी– कोपा अमेरिकाको क्वार्टरफाइनलमा समूह ‘ए’बाट ब्राजिल र भेनेजुयला प्रवेश गरेका छन्। ब्राजिल पेरुलाई हराउँदै समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको हो भने भेनेजुयला बोलिभियालाई हराउँदै उपविजेता बनेर क्वार्टरफाइनल पुगेको हो।
शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ब्राजिल क्वार्टरफाइनल प्रवेश गर्यो। पेरुविरुद्ध ब्राजिलका ५ फरक-फरक खेलाडीले गोल गरे। खेलको १२औं मिनेटमा कासेमिरोले पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
लगत्तै १९औं मिनेटमा रोबर्ट फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा एभर्टन स्वारेजले गरे। पहिलो हाफ ३–० को अन्तरमा टुंगियो।
दोस्रो हाफको ५३औं मिनेटमा ड्यानी आल्भेसले गोल गरे। खेलको ९०औं मिनेटमा विलियनले गोल गरेपछि ब्राजिलले पेरुमाथि ५–० को फराकिलो जित निकाल्यो।
एक बराबरी र दुई खेल जितेको ब्राजिल समूह 'ए'को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल प्रवेश गरेको हो।

सोही समूहको भेनेजुयलाले शनिबार राति नै भएको खेलमा बोलिभियामाथि ३–१ को जित निकाल्यो।
भेनेजुएलालाई जिताउने क्रममा डर्विन म्याकिसले २ गोल गरे भने जोसेफ मार्टिन्जले १ गोल गरे। म्याकिसले खेल सुरु भएको दोस्रो मिनेट र ५५औं मिनेटमा गोल गरेका थिए। मार्टिन्जले ८६औं मिनेटमा गोल गरे।
बोलिभियाको तर्फबाट लिओनल जस्टिनियाले ८६औं मिनेटमा १ गोल फर्काए। आफ्ना ३ खेलमा ३ वटै खेल हारेको बोलिभिया कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ।
१ जित, १ हार र १ बराबरीसहित ४ अंक जोडेको पेरु ३ समूहका तेस्रोमध्ये उत्कृष्ट २ मा परेर क्वार्टरफाइनलमा पुग्ने सम्भावना जिवितै छ। यसका लागि अन्य दुई समूहको खेल कुर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।