जाजरकोट- कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ। गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन्।
गाउँमा काम परेपछि मात्र गएर छिटोछिटो काम सकेर सदरमुकाम को छिटो आउने भन्ने होडबाजी नै चल्ने गरेको छ। गाउँमा रहेको कार्यायलमा भाडा मात्र भुक्तानी हुँदै आएको छ। 'गाउँगाउँमा सिंहदरबार' आए पनि विकास निर्माणको कार्यशैली भने परम्परागत नै हुँदै आएकामा स्थानीयवासी दिक्क छन्।
कुशे गाउँपालिकामा हुने अधिकांश कार्यक्रम सदरमुकाममा गरेर कागजमा मात्र गाउँपालिकामा गरेको देखाउने चलन अत्यधिक छ।
वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा गर्नुपर्ने प्रवृत्तिले स्थानीय सरकारको गति पनि उही पुरानै रहेको स्थानीयवासीको तर्क छ। सानो काम परे पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अझै कायम हुँदा सर्वसाधारण हैरान छन्।
जाजरकोटमा सङ्घीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पूँजीगततर्फ साढे ९ प्रतिशत मात्र खर्च भएको छ। त्यस्तै प्रदेश सरकारमार्फत आएको विकास बजेट २१ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ।
काम गर्ने शैलीमा परिवर्तन नल्याउँदा परम्परादेखि चल्दै आएको असारे विकास यसपटक पनि दोहोरिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।
अन्तिम महिनामा सिङ्गो बजेट कसरी सिध्याउने भन्नेमा स्थानीय सरकार अलमलमा छन्। अन्य स्थानीय तह आ–आफ्नै पालिकामा गएर सेवा दिए पनि कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाले भने सदरमुकामबाट सेवा दिँदै आएका छन्।
जुनीचाँदेको केन्द्र विवाद, कुशे र बारेकोटमा सुरक्षा अभावमा बैंक नहुँदा सदमुकामबाटै सेवा दिनुपरेको गाउँपालिकाले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।