काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा २१ करोड ४९ लाख ३४ हजार १ रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ। महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो। जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ।
महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, बैसाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरिएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए। महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ।
यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा १७ करोड ६० लाख ६१ हजार ७५ रुपैयाँ बराबरको मिलापत्र गराएको छ।
बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो। जसमा १ सय ११ जना रहेका छन्। साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, बैसाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।