पोखरा- कविशिरोमणि लेखनाथ पौड्यालको १३४औं जन्मजयन्ती मनाउन लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था तयारीमा जुटेका छन्।
प्रत्येक वर्ष पुस १५ गतेलाई कविशिरोमणि पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ। कविशिरोमणिको जन्मस्थल अर्घौं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले समितिको पहलमा पाँच वर्षयता जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माण लगायतका कामलाई अघि बढाइसकिएको छ।
समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ।
लामिछानेका अनुसार जन्मस्थलको संरक्षणका साथै कविहरुका साथै साहित्यानुरागीहरुलाई एकपटक पुग्नैपर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर काम भइरहेको छ।
समितिको पहलमा कविशिरोमणिको जन्मघरलाई पुरानै स्वरुपमा निर्माण गरिएको छ भने त्यहाँ उनले प्रयोग गरेका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखेर संग्रहालय निर्माण गर्न लागिएको छ।
कविशिरोमणिको जन्मस्थलमा गएर साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालय लगायतका संरचना तथा पार्क निर्माण भइरहेको छ।
पृथ्वी राजमार्गको अर्घौं चोकस्थित कविशिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएको छ। अर्घौं चोकदेखि कविशिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताए।
समिति गठन भएयता पाँच वर्षको अवधिमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट करिब ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान समेतका आधारमा करिब दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।