म्यानचेस्टर- विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ५ रनले पाखा लगाउँदै न्युजिल्यान्डले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो। पहिलो ५ बलमा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई शून्य रनमा गुमाएको न्युजिल्यान्डलाई कप्तान केन विलियम्सनले भरोसा दिएका थिए। उनले शतकीय १ सय ४८ रनको पारी खेल्दै टोलीलाई दबाबमुक्त बनाएका थिए।
विलियम्सन र रोस टर्लरले तेस्रो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेपछि न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको थियो। टेलरले ६९ रन बनाए।

वेस्टइन्डिजका लागि सेल्डोन कोट्रेलले ४ तथा कार्लोस ब्राथवेयटले २ विकेट हात पारे।
२ सय ९२ रनको लक्ष पछ्याएको वेस्टइन्डिजको टोली एक ओभरको खेल बाँकी रहँदै २ सय ८६ रनमा अलआउट भयो। ब्राथवेयटको १ सय १ रन वेस्टइन्डिजका लागि काम लागेन। यस्तै क्रिस गेलले ८७ र सिम्रोन हेटमेरको ५४ रन बनाए पनि त्यो जितका लागि पर्याप्त बनेन। वेस्टइन्डिजका ३ ब्याट्सम्यान १ रन र २ ब्याट्सम्यन खाता पनि नखोली पेवेलियन फर्किएका थिए।

न्युजिल्यान्डको जितमा ट्रेन्ट बोल्टको ४ तथा लुकी फर्ग्युसनको ३ विकेट महत्वपूर्ण रह्यो।
रोमाञ्चक जितसँगै न्युजिल्यान्ड अंकतालिकाको पहिलो स्थानमा छ। उसले ६ खेलमा ५ मा जित हात पार्दै ११ अंक जोडेको छ। भारतसँगको एक खेल भने वर्षाले प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।
अष्ट्रेलिया, भारत र इंग्ल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथौ स्थानमा छन्। हालसम्म १ मात्रै जित हात पारेको वेस्टइन्डिज ३ अंकका साथमा अंकतालिकाको सातौं स्थानमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।