काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन सरकारलाई आग्रह गरेका छन्।
बुधबार दिउँसो ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष दाहाल र ओलीले सरकारले राजीनामा दिँदै नयाँ सरकारको गठनका सहयोग गर्नुपर्नेमा जोड दिएका हुन्। उनीहरुले निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा सहज वातावरण बनाउनुपर्ने साझा धारणा बनाएका छन्।
राष्ट्रियसभा गठन नभई संघीय संसद् पूर्ण नहुने र संसद् पूर्ण नभई समानुपातिकतर्फ सांसद तोक्न नमिल्ने भनी आयोगले गरेको तर्कको आलोचना गर्दै सिट निर्धारण तत्काल गरिदिन उनीहरुले माग गरेका छन्।
भेटमा पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको जनाइएको छ।
सचिवालयका अनुसार, १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।