बुटवल- रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महिनादेखि रजिस्ट्रेसनको काम हुन सकेको छैन।
घरजग्गा रजिस्ट्रेसन गर्दा एक जना अधिकृतसहित ३ जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानुनी प्रावधान छ। १७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा १ जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित ८ जना कर्मचारी रहेका छन्। घिमिरे र दाहालबाहेक अन्य ६ जना करारका कार्यालय सहयोगी हुन्।
नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाएका छैनन्। यसअघि कार्यालय प्रमुखका रुपमा आएका राजराजेश्वर त्रिवेदी ३ दिन हाजिर भएर गएपछि सम्पर्कमा आएका छैनन्। नासु घिमिरे र खरिदार दाहालले ६ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहेका छन्।
मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहेका छन्। कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताइन्।
उनले भनिन्, 'विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनु भन्दा पनि सुनुवाइ भएन। मान्छेहरु आउँछन्। किन यो काम हुँदैन। गर्नैपर्छ भन्छन्, दबाब दिन्छन्। तर, मलाई निमित्तको समेत जिम्मेवारी छैन। तथापि हामीले जसोतसो गरिरहेका छौँ। तर, रजिस्ट्रेसनको काम ३ जना नभई गर्न मिल्दैन, त्यसैले गरेका छैनौँ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।