साउथह्याम्टन- इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा भारत विजयी भएको छ। तुलनात्मक रुपमा कमजोर मानिएको एसियाली देश अफगानिस्तानसँग भारतले रोमाञ्चक ११ रनको जित निकालेको हो।
भारतको जितमा मोहम्मद शामी नायक बने। उनले ह्याट्रिक गरेका थिए। अन्तिम ओभरको तेस्रो, चौथो र पाँचौ बलमा उनले अफगानिस्तानका ३ ब्याट्सम्यानलाई लगातार पेवेलियनको बाटो देखाएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनको सामान्य योगफल खडा गरेको थियो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ तथा कुमार जाधवले ५२ रनको योगदान दिएका थिए।
अफगानिस्तानका लागि गुवादन नैव र मोहम्मद नावीले समान २/२ विकेट हात पारे।
२ सय २५ रनको सामान्य लक्ष पछ्याएको अफगानिस्तानले आधा खेल सकिएसँगै नियमित अन्तरमा विकेट गुमाएको थियो। उसका लागि मोहम्मद नावीले सर्वाधिक ५२ तथा रहमत शाहले ३६ रन बनाए। भारतका लागि प्रलेयर अफ दि म्यच समेत भएका जसप्रित बुम्राहले किफायती बलिङ गरेका थिए। उनले १० ओभरमा ३९ रन दिएर २ विकेट लिएका थिए।

शामीले ४ विकेट तथा हार्दिक पान्ड्या र युजवेन्द्र चाहलको नाममा समान २/२ विकेट रह्यो।
साउथह्याम्पटनमा खेलिएको सो खेल विश्वकपमा भारतको ५०औं जित हो।
जितसँगै भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ५ खेलमा ९ अंक जोडेको भारतले आयोजक इंग्ल्यान्डलाई उछिनेको हो। भारतअघि एक खेल बढी खेलेको अष्ट्रेलिया छ। उसको १० अंक छ।
न्युजिल्यान्ड ६ खेलमा ११ अंक जोड्दै शीर्ष स्थानमा कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।