काठमाडौं- पार्टी एकता र नयाँ सरकार गठनका विषयमा वाम गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्।
मंगलबार हुने भनिएको वाम गठबन्धनका शीर्ष नेताको भेट पार्टीभित्र आन्तरिक छलफलका लागि भन्दै स्थगित गरिएको थियो।
चार दिनको चितवन भ्रमणपछि काठमाडौं फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताका विषयमा आन्तरिक छलफल गर्ने बताएका थिए। सोही कार्यक्रम अनुसार अध्यक्ष दाहालले निजी निवास खुमलटारमा पार्टीका विभिन्न तहका नेतासँग छलफल गरिरहेका छन्।
नयाँ सरकार गठन र पार्टी एकताबारे दाहालले पार्टीका विभिन्न तहका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन्। बुधबार बिहानैदेखि विभिन्न जिल्लाका नेतासँग अध्यक्ष दाहालले छलफल जारी राखेको दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सेनाले बताए।
यता, नयाँ सत्ता समीकरणबारे विभिन्न दल तथा नेतासँग अनौपचारिक छलफल गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली समेत आन्तरिक छलफलमा छन्।
चुनावी नतिजापछि नयाँ सरकार गठनमा अवरोध सिर्जना भएपछि ओलीले विभिन्न पक्षसँग भावी सरकार गठनका विषयमा परामर्श गरिरहेका छन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीले वाम गठबन्धनका शीर्ष नेताबीच भेटको समय निर्धारण नभएको जानकारी दिएका छन्।
राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुट्न नसक्दा नयाँ सरकार गठनमा अवरोध सिर्जना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।