रुकुम- रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।
जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो।
कामीले साबिकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन गर्ने भन्दै रु चार लाख ऋण लिएको बताइएको छ। संस्थाको तत्कालीन अध्यक्ष हुँदा २०६८ सालमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लिएको रकमको अहिलेसम्म ब्याज र साँवा कति पनि नतिरेको बैंकको भनाइ छ।
उक्त संस्थाले मासिकरुपमा ९ प्रतिशत ब्याज तिर्ने सर्तमा युवा स्वरोजगार अन्तर्गतको रकम लिएको थियो। रातो कामी प्रदेशसभा सदस्यसमेत भइसक्दा उनले नेतृत्व गरेको संस्थाले लिएको साँवा र ब्याज तिर्न नसकेको बैंकका सूचना अधिकारी जोखबहादुर खड्काले जानकारी दिए। बैंकले बेलाबेलामा पत्र तथा जानकारी गराए पनि उनी नआएको उनको भनाइ छ। कार्यालयले पत्रपत्रिका तथा स्थानीय रेडियोमा समेत साँवा ब्याज भुक्तानी गर्न सूचना प्रशारण तथा प्रकाशन गरेको थियो।
मौराखारा कृषक सहकारी संस्था लिमिटेडले हाल कृषि विकास बैंकमा रु ४ लाख साँवा र रु ३ लाख ८० हजार ३१३ ब्याज गरेर जम्मा ७ लाख ८ हजार ३१३ तिर्न बाँकी छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।