तेह्रथुम- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ।
गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन। गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेन्डासमेत त्यत्तिकै थन्किएका छन्।
जिल्लाका तत्कालीन मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो। तर मोराहाङ बजार सबैलाई पायक पर्ने ठाउँमा नभएको भन्दै केन्द्र सार्ने या नसार्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको हो।
६ वडा रहेको गाउँपालिकामा २ वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष जितेको नेकपा (एमाले) सम्बद्ध जनप्रतिनिधिले मोराहाङ बजारबाहेक अन्यत्र केन्द्र नहुने भनेका छन्। यस्तै गाउँपालिका उपाध्यक्ष तथा ४ वडाध्यक्षसहित बहुमत पाएको नेपाली कांग्रेसका जनप्रतिनिधिले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने विषयमा जोड दिएका छन्।
कांग्रेस निकट जनप्रतिनिधिले श्रीजुङमा गाउँपालिकाको केन्द्र सार्नुपर्ने माग गरेका थिए। त्यसो नभए पनि मोराहाङ बजारमै नभई बजारभन्दा करिब २ किमी टाढाको डाँडामा गाउँपालिकाको केन्द्र सार्नुपर्ने उनीहरुको माग छ। यता एमालेबाट निर्वाचित जनप्रतिनिधिले मोराहाङ बजार नै गाउँपालिकाको केन्द्र भएको र यसको विकल्प नभएको समेत दाबी गर्दै आएका छन्।
गाउँपालिकाको विषयमा विवाद भएपछि गाउँ कार्यपालिकाले अहिलेसम्म पनि महत्वपूर्ण निर्णयसमेत पारित गरेको छैन। हरेक पटक बस्ने बैठक निर्णयविहीन बनेर टुंगिने गरेका छन्। अन्य स्थानीय तहमा जनप्रतिनिधिले योजना निर्माण गरेर कार्यान्वयनतर्फ लागिसक्दा पनि यहाँका जनप्रतिनिधिले भने गाउँ सभासमेत गर्न सकेका छैनन्।
तर सो वर्षका लागि गाउँपालिकाले बनाउनै पर्ने योजना, नीति तथा कार्यक्रम नै बनेको छैन। गाउँपालिकाको केन्द्रको विवाद र कर्मचारी अभावले गाउँपालिकाको गाउँसभा गर्न नसकिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताए।
गाउँपालिकाको कार्यालयमा प्रशासकीय अधिकृतबाहेक अन्य कर्मचारी छैनन्। विषयगत कार्यालयतर्फ गाउँपालिकामा स्वास्थ्य र कृषि कार्यालयका एकएक जना प्रतिनिधि कर्मचारी छन्।
गाउँपालिकाको केन्द्र जनताको चाहनाबमोजिम स्थानान्तरण गरी विकासलाई जोड दिने विषयमा सहमतिको प्रयास भइरहेको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी गौतमले बताइन्।
गाउँपालिकाको केन्द्र विवादलगायत अन्य विषयमा छलफल गर्न गाउँपालिकाको बैठक बिहीबारदेखि बस्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।