प्रतिकात्मक तस्बिर
काठमाडौं- बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै सुरु भएको मनसुन शनिबार मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।
वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ।
'अबको एक/दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ,' मौसमविद् शान्ति कँडेलले भने।
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू-भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
दिउँसोपख मध्य भू-भागका केही क्षेत्रबाहेक देशका अन्य भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशका पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमी भू-भागमा आंशिक बदली रही पूर्वका केही स्थानमा वर्षाको सम्भावना छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ।
शनिबार सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।