काभ्रे- काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन्। दुई जनाको उद्धार गरिएको छ।
आज बिहान ३ बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो। गारो भत्किएर उनको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन्। उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए।
स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो। तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
नगरकोट घर भएका तामाङ दम्पती सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। भारी वर्षाका कारण पर्खाल भत्किएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।