काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल र्यालीसहित सूर्यविनायकमा उनको अभिनन्दन गरेको हो।
विभिन्न सङ्घसंस्थाको सहभागितामा बाजागाजासहित मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म सांस्कृतिक र्याली निकालिएको थियो। दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजागाजा तथा र्यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी सूर्यविनायकमा अभिनन्दन गरिएको थियो। अभिनन्दनमा नेवारी परम्परानुसार जोशीलाई सगुन दिनुका साथै साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले बेताली, साहित्यकार रमापतिराज शर्माले दोसल्ला, श्रीगोपाल प्रजापतिले फूलमाला तथा पूर्णप्रसाद बैद्य तथा कैलाशभक्त प्रधानाङ्गले टीका लगाएर अभिनन्दन गरेका थिए।
कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यक्रम संयोजक नरेन्द्रभक्त हाडाले जोशीलाई अभिनन्दन पत्र प्रदान गरेका थिए।
कार्यक्रममा जोशीले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा पुर्याएको योगदानको चर्चा गरिएको थियो।
वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ र जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जोशी देशकै गहना भएकाले उनको योगदानलाई सधैं स्मरण गर्नुपर्ने बताए। कार्यक्रममा जोशीले नेपालको विभिन्न भाषा, संस्कृति, कला, साहित्यलाई सधैँ जीवित राख्नुपर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।