काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा प्रकाशित सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उनले उल्लेख गरेका छन्।
दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो।’
उनले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी ध्रुवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण आवश्यकता भएको बताए।
चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापकहुन्।
प्रचण्डले क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रह गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।