काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशका विषयमा राष्ट्रिय जनता पार्टी नेपालका नेतासँग परामर्श गर्ने भएकी छिन्।
अध्यादेशमा राजनीतिक सहमति जुटाउने प्रयासस्वरुप राष्ट्रपतिले मधेसकेन्द्रित दल राजपा नेपालका नेतासँग छलफल गर्ने तयारी गरेकी हुन्। नेपाल लाइभसँग कुरा गर्दै राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राजपा नेपालका नेतासँग छलफलका लागि बेलुका साढे ५ बजे समयतय गरिएको जानकारी दिए।
राष्ट्रियसभाको गठन प्रक्रिया एकल संक्रमणीय हुने कि बहुमतीय प्रणालीबाट गर्ने विषयमा दलहरुबीच विवाद छ।
सरकारको नेतृत्व गरिरहको नेपाली कांग्रेस एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्नुपर्ने बताउँदै आएको छ। एमाले र माओवादी भने बहुमतीय प्रणालीका आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने अडानमा छन्।
मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमले सरकारले पठाएको अध्यादेश तत्काल पारित गर्न राष्ट्रपतिलाई आग्रह गरिसकेको छ।
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा राजनीतिक सहमति जुटाउन राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छिन्। सरकारले तीन महिनाअगाडि पठाएको अध्यादेश उनले परामर्शका लागि भन्दै रोकेर राखेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।