काठमाडौं- साउदी लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिने म्यानपावर कम्पनीहरु बारे वैदेशिक रोजगार विभागले छानबिन थालेको छ।
बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा अन्तर्वार्ता भइरहेको अवस्थामा विभागको टोलीले छापा मारेको थियो। सो क्रममा भेटिएका म्यानपावर सञ्चालकमाथि छानबिन भइरहेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए। अन्तर्वार्तामा साउदी दूतावासका कन्सुलरको समेत संलग्नता रहेको म्यानपावर सञ्चालकले बताएको भुसालको भनाइ छ।
महानिर्देशक भुसालले भने, ‘दूतावासको संलग्नता रहेको मौखिक जवाफ आएपछि हामीले लिखित जवाफको माग गरेका छौं।’
बिहीबार विभागले गैरकानुनी अन्तर्वार्तामा संलग्न म्यानपावर कम्पनीको मौखिक जवाफ लिए पनि शुक्रबार थप जवाफ लिई छानबिन गरिने महानिर्देशक भुसालले जानकारी दिए। यसरी अवैधानिक रुपमा नेपाली कामदारलाई साउदी लैजानका लागि दूतावासको संलग्नताको लिखित जवाफपछि परराष्ट्र मन्त्रालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।
छापा मार्ने क्रममा अनुगमन टोलीले मिता इन्टरनेसनल, फजल इन्टरनेसनल र अल हायात म्यानेजमेन्ट लगायत म्यानपावर कम्पनीले गैरकानुनी अन्तर्वार्ता लिइरहेको फेला पारेको थियो।
अन्तर्वार्ता दिएर फर्किने तयारीमा रहेका २ सयभन्दा बढी र अन्तवार्ताका लागि लाइन लागिरहेका लगभग ७ सय युवा फेला परेका थिए।

अन्तर्वार्ता लिने मिता इन्टरनेसनल म्यानपावर प्रालिका सञ्चालकलाई अन्तर्वार्ताका लागि लिएको स्वीकृति र कम्पनीको पूर्वस्वीकृति प्रमाण माग गरिएको थियो। सो म्यानपावर कम्पनीले साउदीस्थित साउदी ग्राउन्ड सर्भिसका लागि ५३ जना कामदारका लागि मात्रै अन्तर्वार्ता स्वीकृति लिएको भेटिएको थियो।
अन्तर्वार्ता दिने व्यक्तिलाई समेत विभागको अनुगमन टोलीले सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा अन्तरवार्ता दिइरहेका युवाहरुले आफू साउदीमा के काममा जान लागेको र कुन कम्पनीमा जान लागेको समेत थाहा नभएको बताएका थिए।
अन्तर्वार्ताका लागि लाइनमा उभिएका युवाले आफूहरु ४५ दिनदेखि ३ महिनासम्मका लागि साउदीमा काम गर्न जान लागेको बताएका थिए।
म्यानपावर कम्पनीले साउदीस्थित मुस्लिमहरुको हज यात्राका लागि तीन महिनाको रोजगारी दिने भन्दै उनीहरुबाट प्रतिव्यक्ति २५ देखि ४५ हजारसम्म रुपैयाँ असुलेको भेटिएको छ।
साउदीमा ३ महिनाको रोजगारीमा भन्दै पठाउन लागिएका युवाहरुलाई मेडिकल र बिमा गर्न नपर्ने बताइएको थियो।
पूर्व स्वीकृति बिना भइरहेको अन्तर्वार्ता विभागको अनुगमन टोलीले रद्द गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।