काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक तयार एवं बिक्री गरी राजस्व छली गर्ने १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
विभागले बिहीबार १५ जनासँग दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार १ सय १५ रुपैयाँ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजाय मागदाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
विभागले राजस्व छली गर्ने मुख्य व्यक्ति सुनसरी इनरुवा नगरपालिका ९, वलाहा स्थायी ठेगाना भई हाल भक्तपुर मध्यपुर ठिमी बस्ने ४९ वर्षीय गोपालप्रसाद भट्टराईसमेत लाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
विभागले प्रतिवादीहरुले गरेको बयान, विभिन्न बैंक तथा फाइनान्सबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजात, आन्तरिक राजस्व विभागमा पेस गरेका मूल्य अभिवृद्धि कर तथा आय विवरणको अनुसन्धानपछि राजस्व छली गरेको भन्दै मुद्दा दर्ता गरको हो।
विभागले प्रतिवादीहरु विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धन बहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सुचिकार समेतका नाममा विभिन्न ८ वटा फर्महरु दर्ता भएको फेला पारेको थियो।
यसरी दर्ता गराइएका फर्महरुको सम्पूर्ण आर्थिक कारोबार गर्ने व्यक्तिहरु गोपालप्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले त्यस्ता फर्महरुबाट वास्तविक रुपमा वस्तु तथा सेवा खरिदबिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपञ्च गरी राजस्व चुहावट गरेको देखिएको विभागको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।