काठमाडौं- आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ।
जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए। त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए।
अहिले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन्।
संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत राखेको छ। योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ।
नेपाल लगायत विश्वभरि मानवीय जीवनशैलीमा परिवर्तन भइरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको सिकार पनि भइरहेका छन्। योगले मानिसको जीवनशैली अनुशासित बनाउनका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।