काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सत्ता समीकरण सहितका समसामयिक राजनीतिक विषयबारे आन्तरिक छलफलमा जुटेको छ।
चुनावी परिणामपछि काठमाडौं फर्किएका राजपाका शीर्ष नेताहरु मंगलबारबाट औपचारिक छलफलमा जुट्दैछन्।
सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन अध्यादेश लगायतका विषयमा छलफल गर्न राजपाको केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजेदेखि अध्यक्ष मण्डलको बैठक बस्दैछ।
बैठकमा भावी सत्ता समीकरणसँगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेद्वारको चयन लगायतका विषयमा छलफल केन्द्रित हुने महासचिव केशव झाले बताए।
मंसिर १० र २१ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरमसँग गठबन्धन गर्दै चुनाव लडेको राजपाले प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभामा १६ सिटमा जित हासिल गरेको थियो।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या अनुसार राजपाले १२ सिट पाएको छ।
यस्तै, अध्यक्ष मण्डलको बैठकले राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशबारे औपचारिक धारणा सार्वजनिक गर्ने महासचिव झाले जनाए।
अर्को मधेशवादी दल संघीय समाजवादी फोरम नेपालले भने अध्यादेश चाँडो पारित गर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।