राजविराज– विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण सप्तरीको एउटा विद्यालय बन्द भएको छ। दुई जनाको विवादका कारण करिब १ हजार ३ सय ५० विद्यार्थीको पढाइ प्रभावित भएको छ।
विष्णुपुर गाउँपालिका १, खुरहुरीयास्थित जनता माध्यमिक विद्यालयका पूर्वअध्यक्ष दिलीप यादव र प्रधानाध्यापक सूर्यनारायण यादवको विवाद उत्कर्षमा पुगेपछि विद्यालय बन्द भएको हो। मंगलबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला पूर्वअध्यक्ष यादव विद्यालयमा प्रवेश गरी आफूमाथि दुर्व्यवहार गरेको प्रअले आरोप लगाएका छन्।
विद्यालयभित्रै प्रवेश गरेर दुर्व्यवहार गर्नुको कारण भने उनले खुलाएनन्। ‘यसमा धेरै कुरा छन्,’ उनले भने, ‘सारांशमा भन्नुपर्दा उनको एउटै मात्र उद्देश्य मलाई विद्यालयबाट हटाउनु हो।’
पूर्वअध्यक्ष यादवले भने आफ्नो कार्यकालमा भएको भवन निर्माणको विषयलाई लिएर प्रअले अनर्गल प्रचार गर्न थालेपछि विवाद भएको बताए। ‘२०६८/०६९ मा म अध्यक्ष हुँदा २४ लाखको विद्यालय भवन बनेको थियो, सोही भवनको हिसाब देखाउन नसकेपछि प्रअले ममाथि आरोप लगाएका छन्,’ उनले भने, ‘भवनको १२ लाख रुपैयाँ दिलीपले खायो भन्दै हिँड्न थालेपछि सोही विषयमा कुरा गर्न जाँदा विवाद भयो।’ चर्को स्वरमा विवाद भएपछि सोही विषयलाई दुर्व्यवहार गरेको भन्दै प्रचार गरिएको उनको दाबी छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तरन्जन यादवले भने बैठक चलिरहेका बेला अचानक विवाद सुरु भएको बताए। विवादको कारण स्पष्ट रुपमा नबुझिए पनि उनीहरुको बीचमा १२ लाखको कुरा भने बारम्बार उठेको उनको भनाइ छ। समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए।
पूर्वअध्यक्ष र प्रअका बीचमा विवाद भएपछि बुधवार बसेको स्टाफ बैठकले समस्याको समाधान नहुन्जेल विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोही निर्णयका आधारमा बिहीबारर पनि विद्यार्थी फर्काईएको प्रअ यादवले बताए।
घटनाका विषयमा विष्णुपुर गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराइएको विद्यालय प्रशासनले जनाएको छ।
‘विष्णुपुर गाउँपालिका भित्रका प्रअहरुको बैठकमा पनि मैले यो कुरा राखेको छु,’ प्रअ यादवले भने, ‘समयमै यस्को निचोड ननिस्किए विद्यालय खुल्ने सम्भावना छैन।’
सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले विद्यालयमा भएको समस्याका विषयमा निवेदन परेकाले यथार्थ बुझ्न प्रहरीलाई आदेश गरेको बताए। उनले भने, ‘हामीले प्रहरीलाई पत्राचार गरेका छौं, समस्याको समाधान निस्कन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।