काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले कुनै समय संगीतमा एकछत्र राज गरेका थिए। नेपाली फिल्म संगीत उक्त समय शम्भुजितमय नै थियो। उनको त्यही कलाका थुप्रै फ्यान छन्। शम्भुजितको संगीतमा गीत गाउन पाए हुन्थ्यो ठान्ने धेरै गायक छन्। गीतकार उत्तिकै छन्, जो आफ्नो गीतमा उनको संगीत चाहने।
पछिल्ला वर्षमा संगीत सिर्जनामा निकै कम सक्रिय देखिएका बास्कोटाकहाँ त्यस्तै फ्यान बेलाबखत संगीत गरिदिन प्रस्ताव लिएर पुग्दा रहेछन्। प्रशासनिक काममै भ्याइनभ्याई रहेका उनी पन्छिनका लागि भन्दा रहेछन्, ‘म त एउटै संगीतको एक लाख रुपैयाँसम्म लिन्छु।’
एक लाखमा पूरै गीत रेकर्डिङ गरिसक्ने बजेट लिएर आएकाहरुले त्यसपछि आँट्ने कुरा भएन। तर, एक फ्यान उनीकहाँ पुगेछन्, जो उनकै संगीतमा गीत रेकर्ड गर्न चाहन्थे। बास्कोटाले भनिदिए, 'एक लाख रुपैयाँ।' कुरो मिल्यो, ७५ हजार रुपैयाँमा।
पन्छिनका लागि 'एक लाख' भनेका बास्कोटाले उक्त रकम लिएर संगीत गरिदिए। हालै डोरेमी रेकर्डिङ स्टुडियो जमलमा सो गीत रेकर्ड भइसकेको छ। सोमबार बास्कोटाले यो रहस्य एक कार्यक्रममा आफैंले खोले।
आफूले एउटै गीतको संगीत गरेको ७५ हजार लिएको उनले सगर्व बताइरहँदा सहभागीमा खासखुस चल्यो– 'शम्भुजितले गर्ने संगीतको दर यति नै भए त ठिकै थियो। पन्छिनका लागि हचुवामा भनेको रकम साँच्चै लिइदिँदा आफ्नै फ्यानमाथि अन्याय भएन र?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।