नयाँ दिल्ली (एजेन्सी)- क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा रिलिज सलमान खानको बहुप्रतीक्षित फिल्म 'टाइगर जिन्दा हे' बक्स अफिसमा कीर्तिमानी व्यापार गरिरहेको छ।
फिल्मले रिलिज भएको तेस्रो दिन आइतबार अपेक्षा गरेभन्दा राम्रो कमाइ गरेको छ। बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, फिल्मले आइतबार ४५ दशमलब ५३ करोड भारु कमाइ गर्यो। फिल्मले रिलिजको दिन शुक्रबार ३४ दशमलब १० करोड र शनिबार ३५ दशमलब ३० करोड भारु कमाएको थियो।
यस हिसाबले अहिलेसम्म फिल्मले एक सय १४ दशमलब ९३ करोडको कीर्तिमानी कमाइ गरेको छ।
तरण आदर्शका अनुसार, सलमान यस्ता पहिलो अभिनेता हुन्, जसको अहिलेसम्म १२ फिल्मले एक सय करोडभन्दा बढी कमाइ गरेका छन्। 'टाइगर जिन्दा हे' का साथै 'बजरंगी भाईजान' र 'सुल्तान' ले पनि सुरुका तीन दिनमै एक सय करोडभन्दा बढीको व्यापार गरेका थिए।
तीन दिनमै एक सय १० करोड भारु कटाउने 'टाइगर जिन्दा हे'ले एक सातामा दुई सय करोडभन्दा बढीको व्यापार गर्ने आकलन गरिएको छ। सोमबार क्रिसमसको छुट्टीको फाइदा फिल्मले उठाए पनि व्यापारको आँकडा आउन बाँकी छ।
यो फिल्म २०१२ मा आएको सलमान-केटरिना अभिनीत 'एक था टाइगर' को सिक्वल हो। ७५ करोड भारुमा बनेको 'एक था टाइगर'ले करिब ३ सय २० करोड कमाएको थियो। यो पछिल्लो फिल्मको बजेट भने सलमान खानको पारिश्रमिकबिना नै करिब एक सय ५० करोड रहेको छ। फिल्मले सुरुवाती ४-५ दिनमै आफ्नो लगानी उठाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।