काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरपालिकाको पाँचौ नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनीक गरेको हुन्।
महानगरपालिकाले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ। जसमा सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्नेदेखि विद्युतीय बस संचालन गर्नेसम्मका कार्यक्रम छन्।
काठमाडौं महानगरपालिका भित्रको पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु क्षेत्र, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा स्थापित गरिने नीति लिएको छ।
यस्ता छन् नीति तथा कार्यक्रममा समेटिएका केही मुख्य विषयहरु
- सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने। सहरी यातायात व्यवस्थापन नीति अन्तर्गत काठमाडौंको सम्भाव्यता देखिएका स्थानहरुको पहिचान गरी साईकल लेन बनाउने।
- ज्येष्ठ नागरिकहरुको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको योगदानको कदर गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम संचालन गर्ने।
- काठमाडौंलाई प्रदुषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने। ठूला उद्योगबाट निस्कने फोहोरपानीलाई प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट अनिवार्य राख्नुपर्ने नियम ल्याईने उल्लेख छ।
- काठमाडौं उपत्यकाभित्र छिर्ने नाकामा आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने भएको छ।
- काठमाडौंमा विद्युत् अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने।
- निःशुल्क वाईफाई सेवा संचालनको कामलाई विस्तार गर्ने।
- काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरी संचालन ल्याउने। महानगरपालिकाद्वारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने।
- ‘नो मास्क सिटी’का रुपमा विकास गर्न ल्याईएका ब्रुमरहरुको प्रयोगलाई प्रभावकारी बनाइने।
- काठमाडौंलाई प्लाष्टिकमुक्त सहर घोषणा गर्ने।
- सडकहरुमा अर्नामेन्टल प्लान्ट लगाई शहरी हरियाली एवम् सौन्दर्य अभिवृद्धि गर्ने।
- खुल्ला क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था, सार्वजनिक जग्गा, पर्ति जग्गामा विभिन्न प्रजातिका फलफुलका बिरुवाहरु रोपेर ग्रिन सिटी प्रवर्द्धन गर्ने।
- एक घर दुई रुखको कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिने।
- मूल सडक र सहायक सडक मोहडामा अवस्थित भवन तथा भौतिक संरचना कम्पाउन्ड वाल समेत तोकिए बमोजिम रङरोगन गर्ने।
- सडकमा साइकल लेनको व्यवस्था गर्ने
- कोटेश्वर-तीनकुनेस्थित खुल्ला क्षेत्रलाई मौलिक पहिचान सहितको अन्तर्राष्ट्रियस्तरको आधुनिक बुद्धपार्क निर्माण गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।