काठमाडौं- गैह्रकानुनी रुपमा नेपाली कामदार साउदीमा नपठाउन साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले म्यानपावर कम्पनीसमक्ष अनुरोध गरेको छ।
बुधबार वैदेशिक रोजगार विभागको छापामा गैह्रकानुनी रुपमा म्यानपावर कम्पनीहरुले अन्तवार्ता लिइरहेको भेटिएसँगै दूतावासले गैह्रकानुनी रुपमा नेपाली कामदार साउदी नपठाउन म्यानपावरलाई अनुरोध गरेको हो।
साउदीमा रोजगारीका लागि ठूलो संख्यामा अदक्ष कामदारहरु जाने गरेका छन्।
नेपाल सरकारले २०७५ असोज १९ गते राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा रोजगारीका लागि पुग्ने नेपाली कामदारको कामको प्रकृतिअनुसार अन्य कामदारको न्यूनतम पारिश्रमिक १ हजार र खानाको लागि ३ सय साउदी रियाल कायम गरेको छ।
नेपाली दूतावास रियादले दूतावासमा प्राप्त कामदार मागपत्र सम्बन्धी कागजातहरु नेपाल सरकारको निर्णय एवं साउदी सरकारको श्रम कानूनमा उल्लेख निश्चित व्यवस्थाअनुसार भए नभएको हेरेर मात्र कागजात प्रमाणीकरण गर्ने गरेको छ।
नेपाल सरकारले निर्णय गरेको पारिश्रमिक कार्यान्वयनका सम्बन्धमा दूतावासले नियमित रुपमा स्थलगत भ्रमण, कामदार र कामदारका परिवार, कम्पनी मालिक, व्यवस्थापक, म्यानपावर व्यवसायी, नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका माध्यमबाट जानकारी लिने गरेको जनाएको छ।
राजदूतावासले संकलन गरेको पछिल्लो तथ्यांकले साउदी अरबमा नेपाली कामदार पठाउने सन्दर्भमा व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्न सक्ने सम्भावना अत्यधिक देखिएको दूतावासले टिप्पणी गरेको छ।
साउदी अरबमा रोजगारीका लागि आउने अदक्ष कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधाको साउदी रियाल ३ सय रियाल हुनेगरी मात्र रोजगारदाता वा कामदार आपूर्तिकर्तासँग सम्झौता गर्न व्यवसायीलाई दूतावासले सुझाएको छ।
नेपाली राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकुल हुनेगरी कुनैपनि सम्झौता नगरी संवेदनशील भई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गरिदिन भन्दै दूतावासले व्यवसायीहरुलाई अनुरोध गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।