काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले बिहिबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
महानिर्देशक कर्णसमेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि खरिद गरिएका ४ वटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदण्ड नपुगेका भ्यान खरीद गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा आयोगले दायर गरेको हो।
विभागले खरीद गरेका ४ थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिने गरी २ पटकमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ हिनामिना गरेको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ।
यसरी सवारी खरीदमा आर्थिक अनियमितता गर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेश प्रसाद चालिसे विरुद्ध मुद्दा दायर गरेको हो।

यसैगरी, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र सवारी साधन बेच्ने प्रुडेन्ट मेडिटेक ईन्टरनेसनलका प्रतिनिधि प्रविण कुँवरविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगले दायर गरेको आरोपपत्रमा भनिएकाे छ, ‘भ्यान खरिद गरी कार्यालयमा दाखिला नभएको अवस्था हुँदाहुँदै नियम कानूनलाई आफू अनुकूल प्रयोग गरी कमिसन खाई भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको, भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको भेटिएको छ।’
प्रुडेन्ट मेडिटेक इन्टरनेसनलले आपूर्ति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विभागको नाममा कायम भएका भ्यान र सोको विभिन्न पार्टस् सप्लायर्ससँगको मिलेमतोमा बदनियतपूर्वक लाभ गर्ने गरी र नेपाल सरकारलाई हानी नोक्सानी पुर्यार्याएको आयोगको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।