काठमाडौं- रोजगारीका लागि टर्कीमा पुगी अलपत्र परेर फर्किएका युवाले सरकारले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन्।
टर्कीबाट फर्किए लगत्तै २०७५ पुस महिनामा वैदेशिक रोजगार विभागमा उजुरी दिएपनि हालसम्म गुनासो सुनुवाई नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन्।
दुई वर्षको करार अवधिका लागि युरोपेली देश टर्की पुगेका नेपाली कामदार टर्की पुगेको ६/७ महिनामै कम्पनीले काम सकिएको भन्दै फिर्ता गराएको थियो।
युरो नेपाल, डेल्टा, स्विफ्ट, अवसर नेपाललगायतका म्यानपावर कम्पनीले उनीहरुलाई दुई वर्षको करार अवधि भएको बताएका थिए।
राम्रो आइजीए कम्पनीमा स्काफोल्डिङ काम हुने र कमाई पनि मासिक ५ सय अमेरिकी डलरभन्दा बढी हुने भन्दै ३ देखि ५ लाख रुपैयाँसम्म रकम असुलेर म्यानपावर कम्पनीले उनीहरुलाई टर्की पुर्याएका थिए।
२ वर्षको करार अवधिका लागि भन्दै पठाइएका उनीहरुलाई टर्की पुगेको ४ देखि ७ महिनाभित्रमा कम्पनीले काम सकिएको भन्दै फर्काएको थियो।
000
करार अवधि अगावै फर्किएका युवाले लगत्तै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
१७० जना युवाले २०७५ पुस ११ गते एकैपटक उजुरी दिएको बताउँछन् उनीहरु ।
टर्कीबाट फर्किएर विभागमा उजुरी दिने पीडितले ५ महिना बितिसक्दा पनि कसैले पनि क्षतिपूर्ति पाउन सकेका छैनन्।
म्यानपावर कम्पनीको धरौटी रकमबाट पीडितको बिगो भराउन नपुग्ने भएपछि उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन समस्या भएको विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाँईले जानकारी दिए।
000
गत जनवरी ५ देखि ७ तारिखसम्म टर्कीबाट फर्किएका १ सय ७० जना युवालाई टर्कीस्थित उनीहरु कार्यरत कम्पनीले प्रतिव्यक्ति ७ सय डलर पठाउने भनेको रकम पनि सरकारको लापरबाहीको कारण आफूहरुले पाउन नसकेको पीडितहरुले गुनासो गरेका छन्।
रोजगारीका लागि टर्की पुगेर फर्किएका खोटाङ हलेसीका मनिसुन्दर राईले नेपाल लाईभसँग भने, ‘हामीलाई कम्पनीले पठाउने भनेको रकम पनि सरकारले पहल गर्न नसक्दा हामीले पाएका छैनौँ।’
कानुनी सहायताका लागि विभागमा आएका पीडितलाई विभागले वेवास्ता गर्दा आफूहरुले झन् पीडामाथि पीडा पाएको उदयपुरका रोशन आचार्य बताउँछन्।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने पीडितलाई क्षतिपूर्तिबापतको रकम टर्कीको कम्पनीले सरकारकै खातामा पठाउन तयार भएको तर हालसम्म नपठाएको बताएका छन्।
टर्की पीडितलाई न्यायका लागि विभागले सक्दो पहल गरिरहेको महानिर्देशक भुसालले जानकारी दिए।
000
यसअघि डेल्टा म्यानपावर सञ्चालक राजन केसीलाई पीडितहरु आफैँले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए।
पीडितसँग ठगीको प्रमाण नभएपछि २४ घन्टामा नै उनी जमानीमा रिहा भएका थिए।
म्यानपावर सञ्चालकलाई कारबाही प्रकृया अगाडी बढाई पीडितलाई क्षतिपूर्ति दिलाउन विभागले आनाकानी गरेको टर्कीबाट अलपत्र परेर फर्किएका सप्तरीका बावुराम विष्ट बताउँछन्।
टर्कीमा राम्रो काम र कमाईको प्रलोभन देखाएर सो म्यानपावर कम्पनीले १३ सयभन्दा बढी युवाहरुसँग प्रतिव्यक्ति ३ देखि ५ लाखसम्मका दरले ठगी गरेको थियो।
भिडियो: निर्मला घिमिरे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।