काठमाडौं– बिहीबार बिहान सकिएको कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र र पाराग्वेले १–१ गोलको बराबरी खेलेका छन्।
१–० ले पछि परेको स्थितिमा पेनाल्टीमार्फत लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन्।
३७औं मिनेटमा रिचार्ड सान्चेजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। मिगुएल आल्मिरोको क्रस पासमा सान्चेजले गोल गरेका थिए।
अर्जेन्टिना पहिलो हाफमा १–० ले पछि परेको थियो। खेलेको ५७औं मिनेटमा पाराग्वेका डिफेन्डरले डिबक्सभित्र ह्यान्ड बल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। मेसीले पेनाल्टीमा गोल गर्दै १–१ को बराबरीमा खेल फर्काएका थिए।
त्यसको ३ मिनेटपछि नै पाराग्वेले पेनाल्टी पायो। पाराग्वेको पेनाल्टी अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले रोके। त्यसपछि बाँकी गोल हुन सकेन।
बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन्। यही समूहमा रहेको कोलम्बिया आफ्ना दुवै खेल जित्दै ६ अंक बटुलेर समूहको शीर्ष स्थानमा रहँदै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ।
पाराग्वेसँग बराबरी खेलेको अर्जेन्टिनालाई भने अर्को चरणमा प्रवेश गर्न अफ्ठयारो स्थिति बनेको छ। दुई खेलबाट जम्मा १ अंक जोडेको अर्जेन्टिना समूहको अन्तिम स्थानमा छ। पाराग्वे २ अंकसहित दोस्रो र १ अंक नै रहेको कतार तेस्रो स्थानमा छन्।
अर्को चरण प्रवेश गर्न अब अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा कतारलाई हराउनै पर्नेछ भने कोलम्बिया र पाराग्वेको नतिजा समेत कुर्नुपर्ने हुन्छ।
यदि अर्जेन्टिनाले कतारलाई हराए पनि पाराग्वेले कोलम्बियालाई हराएको अवस्थामा अर्जेन्टिना अर्को चरण प्रवेश गर्न सक्दैन। पाराग्वे कोम्बियासँग पराजित तथा बराबरी रोकिएको अवस्थामा अर्जेन्टिनाले कतारलाई हराएको अवस्थामा भने अर्जेन्टिना अर्को चरण प्रवेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।