अभियान शुभारम्भका क्रममा बिहीबार ओखलढुंगामा निकालिएको सचेतना र्याली।
काठमाडौं- सरकारले ‘लागुऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान‘ सुरु गरेको छ।
लागुऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागुऔषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा जिल्ला तय गरी सो अभियानलाई अघि बढाइएको जानकारी दिए।
उनले सरोकारवालाहरुको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको पनि जानकारी दिए।
अभियानअन्तर्गत देशभर लागुऔषध रोकथाम नीति र सो समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाँजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ। ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वास्थ जीवन’ भन्ने मुल नाराका साथ तय गरिएको सो सप्ताहव्यापी अभियान असार ११ गतेसम्म सञ्चालन हुनेछ।
नेपालमा हाल वर्षेनी ११ दशमलब ३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांक छ।
त्यसैगरी, कूल अपराधमध्ये ७ प्रतिशत अपराध लागुऔषधसँग सम्बन्धित छन्। युवाहरु कुलतमा फस्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रणमा लिन सो जनचेतनामूलक अभियान सञ्चालन गर्नु परेको पनि गृह सचिव राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।