काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै व्यवस्थापिका संसद् विघटन भयो। निर्वाचन भएर चाँडै नयाँ सरकार गठन गर्ने गृहकार्य समेत सुरु भइसक्दा विघटित संसदको विकास समिति भने विभिन्न अन्तरक्रिया र कार्यक्रमको नाममा बजेट सक्ने योजनामा छ।
यसैको पछिल्लो उदाहरण विकास समितिले पुस ११ मंगलबार काठमाडौंमा राखेको एक कार्यक्रम हो।
समितिले मंगलबार एक पार्टी प्यालेसमा शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ। नयाँ संसद् बैठक बस्ने तयारी अन्तिम चरणमा पुग्दा र संसद् सचिवालयले नयाँ समितिहरु निर्माणका लागि नियमावली मस्यौदा गरिरहेको समयमा अस्तित्वमै नरहेको विकास समितिले बजेट रित्याउन यस्तो कार्यक्रम आयोजना गरेको हो।
गत कात्तिक १ गते अन्तिम बैठक बस्दै संसद् विघटन भएको थियो। बहस कार्यक्रमबारे जिज्ञासा राख्न खोज्दा संसद् सचिवालयका कर्मचारी सम्पर्कमा आउन चाहेनन्। संसद् सचिवालयका महासचिवले यसबारे आफूलाई जानकारी नभएको बताए।
आगामी संसदमा विकास समिति कायम हुने वा नहुने दुवै सम्भावना रहेको र विगतको रकम बाँकी रहेकाले त्यसलाई सक्न कार्यक्रम आयोजना गरिएको सचिवालय स्रोतले जनाएको छ।
कार्यक्रममा एमाले, माओवादीका र नेपाली कांग्रेसका पूर्व सांसदहरुलाई टिप्पणीकर्ता राखिएको छ। संसद् सचिवालयका सचिवको संयोकत्वमा हुन लागेको कार्यक्रममा कार्यपत्र लेख्ने जिम्मेवारी पत्रकारलाई दिइएको छ।
‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ शीर्षकमा हुन लागेको कार्यक्रमको संयोजक विकास समितिका उपसचिव रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।