काठमाडौं- कप्तान केन विलियम्सनले कप्तानी पारी खेलेपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।
इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटअन्तर्गत बुधबार राति सकिएको खेलमा न्युजिल्यान्ड ४ विकेटले विजयी भएको हो।
कप्तान विलियम्सनले १ सय ६ रनको शतकीय पारी खेलेपछि न्युजिल्यान्ड ४ विकेटले विजयी भएको हो। विलियम्सनको पारीमा ९ चौका र १ छक्का सामेल थियो। यसका अलावा न्युजिल्यान्डका लागि कोलिन डी ग्रान्डहोमले ६० तथा मार्टिन गुप्तिलले ३५ रनको योगदान दिए।
दक्षिण अफ्रिकाका तर्फबाट क्रिस मोरिसले सर्वाधिक ३ विकेट हात पारे।
यसअघि टस हारेर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाका २ ब्याट्सम्यानले अर्धशतक प्रहार गरेपछि ४९ ओभरमा छोट्याइएको खेलमा ६ विकेटको क्षतिमा २ सय ४१ रनको योगफल तयार गरेको थियो।
उसका लागि रासि भान्डर डुसेनले सर्वाधिक ६७ र हसिम अम्लाले ५५ रनको योगदान दिएका थिए। न्युजिल्यान्डका लुकी फर्गुसनले सर्वाधिक ३ विकेट हात पारे।
जितसँगै न्युजिल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। वर्षाका कारण रद्द भएको एक खेल बाहेक आफ्ना सबै खेलमा जित हात पारेको न्युजिल्यान्ड आयोजक इंग्ल्यान्डलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
न्युजिल्यान्डको ५ खेलबाट ९ अंक छ भने समान खेलमा इंग्ल्यान्डको ४ अंक छ। यसबाहेक अष्ट्रेलिया तेस्रो तथा भारत चौथो स्थानमा छन्।
उता दक्षिण अफ्रिकाको भने ३ अंक मात्रै छ। ६ खेल खेलिसकेको उसको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ।
अंकतालिकामा शीर्ष ४ स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेनेछन्। अन्तिम स्पर्धामा १० टोली सहभागी भएको यस प्रतियोगितामा प्रत्येक टोलीले अन्य सबै टोलीसँग एक/एक खेल खेल्नुपर्छ। यसपटक समूह विभाजन नगरिकनै प्रतियोगिता सञ्चालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।