काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पुर्याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।
उनले काम 'होल्ड' गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कारबाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए। प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारे।
बुधबार राष्ट्रिय योजना आयोगअन्तर्गत राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं बैठकमा बोल्दै उनले जनता र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने जिकिर गरे।
प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।