काठमाडौं- चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनाको अवधिमा मुलुकको चालु खाता एवम् शोधनान्तर स्थिति ओरालो लाग्दै गएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु खाता घाटा र शोधनान्तर स्थीति अघिल्ला आर्थिक वर्षकाको तुलनामा बढ्दै गएको देखिएको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा चालु खाता घाटा करिब ३० अर्ब रुपैयाँले र शोधनान्तर घाटा करिब ४० अर्ब रुपैयाँले बढेको छ।
चालु आर्थिक वर्षको १० महिना अवधि अर्थात् वैशाख मसान्त सम्ममा चालु खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ।
चालु आवको १० महिनामा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।
विदेशी मुद्रा सञ्चिति
२०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेकोमा २०७६ वैशाख मसान्तमा १० खर्ब ६० अर्ब ७० करोड कायम भएको छ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ बराबर रहेकोमा २०७६ वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ बराबर रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ बराबर रहेकोमा २०७६ वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। २०७६ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशलमव ६ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।