भैरहवा- रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ मा डोजर लगाई घरबारविहीन बनाएकोप्रति तीन संस्थाले आपत्ति जनाएका छन्। एड्भोकेसी फोरम, थर्ड एलाइन्स र बाल कल्याण संस्थाले आपत्ति जनाएका हुन्।
वडा नम्बर १ मा घरटहरा बनाई बसोबास गर्दै आएका करिब १६ घरपरिवार बसोबास गर्दै आएको स्थानमा बुटवल उपमहानगरपालिकाले जेठ ३० गते डोजर चलाएको थियो।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्प्रेषण परमादेशको मुद्दा दर्ता गरेकोमा उक्त मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उपमहानगरले गते बल प्रयोग गरी घरटहरा भत्काउनु निन्दनीय भएको भन्दै ती संस्थाले आपत्ति जनाएका हुन्।
एडभोकेसी फोरमका संयोजक शिव गौडेल, थर्ड एलायन्स प्रदेश ५ का प्रादेशिक संयोजक अग्निशक्ति यादव र नेपाल बालकल्याण संस्था, रुपन्देहीका महासचिव दीलिप कुमार मल्लिकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घरविहीनलाई तत्काल सुरक्षित बासस्थानको व्यवस्था गर्न उपमहानगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष आग्रह गरेका छन्।
बुटवल उपमहानगरपालिकाको कार्य नेपालको संविधानद्वारा प्राप्त सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, आवासको हक लगायतका मौलिक हकहरुमा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख छ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनितिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६, नेपालको संविधान २०७२ को धारा २५, ३७, ३९ र धारा ४० (५) (६) को समेत उल्लंघन भएको ती संस्थाको भनाइ छ।
उपमहानगरपालिकाको बोर्ड बैठकले बैसाख १५ गते ३५ दिनभित्र सो जग्गा खाली गर्न सूचना टाँस गरेको थियो। त्यसविरुद्ध पीडितले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञासहित उत्प्रेषण परमादेशको मुद्दा दर्ता गरेकोमा उक्त मुद्दा अदालतमा विचाराधीन छ।
टहराका डोजर लागेपछि पीडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।
अत्यधिक घाम र गर्मीका कारण बालबालिकाको बिजोक भएको छ। स्थानीय सरकारले नागरिकको जिउधनको रक्षा गर्दै सुरक्षित बासस्थानको व्यवस्था गर्नुको सट्टा अचानक डोजर लगाई जबर्जस्ती घरटहरा भत्काएको भन्दै उनीहरुले सो कार्यको विरोधसमेत गरेका छन्।
यो पनि:
बुटवल उपमहानगरले घरमा डोजर लगाएपछि १६ परिवार अनसनमा, बस्ती हटाएर कर्भडहलको शिलान्यास
बुटवल उपमहानगरको 'ज्यादती' : मुद्दाको किनारा नलाग्दै १६ परिवारका घरटहरामा लगाइयो डोजर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।