काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्।
क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश भएकाले हरेक चाडपर्व राष्ट्रिय धरोहरका रुपमा रहेको उल्लेख गरिन्। यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताएकी छिन्।
यसै अवसरमा राष्ट्रपतिले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा आम मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने विश्वास पनि व्यक्त गरेकी छिन्।
आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्न सके नेपालको चौतर्फी प्रगति छिटो हुने भन्ने विश्वास लिँदै उनले इसाई धर्मावलम्बीको पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।