काठमाडौं– घरबेटीले घर खाली गर्न १५ दिनको सूचना निकालेको डेढ महिना बित्दा पनि पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडाको विवाद सुुल्झिएको छैन।
सरकारी निकायहरु एकले अर्कालाई देखाएर पन्छिँदा पूर्वराष्ट्रपति यादव समस्यामा परेका छन्। यादवका घरबेटी रविभक्त विष्टले गत कात्तिक २० गते १५ दिनभित्र घर खाली गराउन भन्दै एक पत्रिकामा सूचना निकालेका थिए।
विष्टले घरको बहाल सम्झौता नवीकरण नगरेको र भाडा पनि नतिरेको भन्दै घर खाली गर्न सूचना निकालेका थिए। हालसम्म सरकारले न भाडा तिरेको छ, न त यादवले नै घर खाली गरेका छन्।
गत साउनयता घरबेटी विष्टले घरभाडा पाएका छैनन्। अघिल्लो आर्थिक वर्षमा पूर्वराष्ट्रपति घरभाडा राष्ट्रपति कार्यालयले तिर्दै आएको थियो। तर, बजेट प्राप्त नभएको भन्दै राष्ट्रपति कार्यालयले भाडा र अन्य बिल तिरेको छैन।
घरबेटी विष्टले सूचना निकालेपछि राष्ट्रपति कार्यालयले उक्त विवादमा आफूहरुलाई नमुछ्न आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकिय सचिव शिव भट्टराईका अनुसार गृह मन्त्रालयमार्फत पूर्वराष्ट्रपतिको भाडा तिर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरिएको छ। राष्ट्रपति कार्यालयले पत्राचार गरेको एक महिना बित्दा पनि भाडा तिर्ने प्रक्रिया अघि बढेको छैन।
प्रधानमन्त्रीको कार्यालयले भने पूर्वराष्ट्रपतिको भाडा तिर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ। तर, ढिलासुस्ती र विभिन्न प्रशासनिक झन्झटका कारण गृहले अझै भाडा तिर्ने प्रक्रिया मिलाएको छैन। गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले केही दिनभित्रै पूर्वराष्ट्रपति यादव बस्दै आएको घरको भाडा तिरिने बताए।
‘आज (आइतबार) भाडासम्बन्धी सम्पूर्ण विवरण हामीले राष्ट्रपति कार्यालयबाट प्राप्त गरेका छौं’, उनले नेपाल लाइभसँग भने, ‘अब १/२ दिनभित्रै भाडा तिर्नेछौं ।’
पूर्वराष्ट्रपति यादव ०७२ साल साउनयता बागडोलस्थित विष्टको घरमा बस्दै आएका छन्।
पूर्व विशिष्ट पदाधिकारीहरुले पाउने सुविधासम्बन्धी कानुन नबन्दा मन्त्रिपरिषद्को निर्णयको आधारमा पूर्वराष्ट्रपति यादवलाई उक्त सुविधा दिँदै आइएको छ। कतिपयले भने ललितपुरमा आफ्नो घर हुँदाहुँदै सरकारलाई भाडा तिर्न लगाएर अर्काे घरमा बस्दै आएको भन्दै उनको आलोचना पनि गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।