म्यान्चेस्टर- इंल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली शिर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति सकिएको खेलमा अफगानिस्तानलाई १ सय ५० रनको भारी अन्तरले हराउँदै इंग्ल्यान्ड अंकतालिकाको पहिलो नम्बरमा उक्लिएको हो।
टस जिती पहिले ब्याटिङ रोजेको इंल्यान्डले कप्तान इयान मोर्गनको विस्फोटक ब्याटिङको मदतमा ६ विकेटको क्षतिमा ३ सय ९७ रनको विशाल योगफल खडा गरेको थियो। मोर्गनले धुँवाधार ब्याटिङ गर्दै ७१ बलमा १ सय ४८ रन बनाएका थिए। उनको पारीमा १७ छक्का र ४ चौका सामेल थियो।
इंल्यान्डका लागि जो रुटले ८८ तथा जोनी बेरिस्टोले ९० रनको योगदान गरे। अफगानिस्तान लागि भने गुल्बदिन नाइब र दौलत जद्रानले समान ३/३ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानका हस्मतुल्लाह शाहिदीको ७६ रन, रहमत शाहको ४६, असगर अफगानको ४४ र नाइबको ३७ रन लक्ष भेट्टाउन पर्याप्त बनेन। निर्धारित ५० ओभरमा अफगानिस्तानले ८ विकेटको क्षतिमा २ सय ४७ रन मात्रै जोड्न सक्यो।
इंग्यान्ल्डका लागि जोफ्रा आर्चर र आदिल रसिदले समान ३/३ विकेट तथा मार्क वुडले २ विकेट लिए।
विश्वकपको यस संस्करणमा अफगानिस्तान जितविहीन छ। अफगानिस्तान यसअघि अस्ट्रेलिया, श्रीलंका, न्यूजील्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ।
उता इंग्याल्डले भने ५ खेलमा ४ मा जित हात पार्दै ८ अंकका साथमा पहिलो स्थानमा उक्लिएको छ। समान खेलमा समान जित हात परे पनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।
एक खेल कम खेलेका न्युजिल्यान्ड र भारत क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अंकतालिकामा शिर्ष ४ मा रहने टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।