जनकपुरधाम- प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत सञ्चालित जानकी मन्दिर पुनर्निमाणमा ढिलाई हुँदा मन्दिरमा फोहरको डंगुर थुप्रिएको छ।
जानकी मन्दिर परिसरमा बालुवा-ढुंगाको चाङ थुप्रारिएको छ। ढलका लागि खनिएको खाल्डा नपुरिएको र बालुवा–ढुंगाको चाङले श्रद्धालुलाई आउजाउ गर्न समेत समस्या छ।
मंसिर तेस्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए।
अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुननिर्माण तथा ढल निकासका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सो आयोजनाको शिलान्यास भई काम सुरु भएपनि कामको गति सुस्त छ। परिसरका पुराना संरचना भत्काइएकाले मन्दिर परिसर सांगुरो भएको छ। सांगुरो स्थानमा फूल, माला, प्रसादी पसलसमेत थापिएकाले श्रद्धालुलाई आउजाउ गर्न कठिनाई भएको छ।
ठेकेदार तीन महिनादेखि काम रोकेर सम्पर्कविहीन रहेको बताइएको छ।
मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले ३ महिनादेखि ठेकेदारलाई नदेखेको बताए।
'यत्रतत्र निर्माण सामग्री थुपारिएकाले मन्दिरको सरसफाई प्रभावित भएको छ। श्रद्धालुलाई कठिनाइ भइरहेको छ,’ उनले भने।
जानकी मन्दिरमा थुप्रिएको निर्माण समाग्रीले दिनदिनै आउने हजारौं पर्यटकलाई गलत सन्देश प्रवाह गरेको छ।
जानकी मन्दिर प्रदेशकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक प्रतिष्ठाको विषय भए पनि पुनर्निमाणमा प्रदेश सरकारले चासो देखाएको छैन।
जानकी मन्दिरमा वर्षभर नै पूजाअर्चना तथा विशेष पर्व त्यौहारको आयोजना हुन्छ। जसमा हजारौंको सहभागिता हुन्छन्। श्रावणमा दुई सातासम्म चल्ने झुलनोत्सव पर्वको आयोजना हुन अब डेढ महिनामात्र बाँकी छ। असोजसँगै चाडपर्व सुरु हुन्छन्।
‘दैनिक हजारौं श्रद्धालुको आगमन हुने मठमन्दिरको काम छिटो सम्पन्न गर्नु पर्ने हो। ढिलाई हुँदा श्रद्धालुलाई कठिनाई हुन्छ,’ महन्त दास भने।
यता, मुख्यमन्त्री स्वच्छता अभियानको सुपरिवेक्षण गर्दै आएका जलस्रोत सिंचाइ विभागका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले निर्धारित समयमा काम पूरा हुने दाबी गरेका छन्। उनले १ वर्षभित्र पूरा हुने भनिएको उक्त आयोजना अगामी ६ महिनाभित्र सम्पन्न हुने बताए।
झाका अनुसार मन्दिरको दक्षिण, पश्चिम र उत्तरी भागमा ढल जडान, च्याम्बर निर्माण तथा ढलानको काम सकिएको छ। उनले भने, ‘तीनतिरको काम सम्पन्न भएपछि मात्र अगाडिको काममा हात हाल्ने योजना छ।’
‘श्रद्धालुलाई मर्का नपरोस् भनेरै हामीले चरणबद्ध काम थालेका हौं। अगामी ६ महिनाभित्र काम सम्पन्न हुन्छ,’ झाले भने। ढल निकास र ढलानको काम सम्पन्न भई सकेपछि वर्षाको मौसममा समेत मार्बल र ग्रेनाइट जडान काम जारी रहने झाको भनाइ छ। उनले पुरातत्व विभागले पछिल्लो पटक दिएको निर्देशनका कारण मार्बल र ग्रेनाइट खरिद गर्न ढिला भएको जानकारी दिए।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिर परिसरमा रातो मार्बल र ग्रेनाइटको आकर्षक डिजाइन बनाउने योजना थियो। तर, पुरातत्व विभागले मन्दिर परिसरलाई मन्दिरभन्दा आकर्षक बनाउन नहुने बताएपछि पछिल्लो समय सेता मार्बल र ग्रेनाइट खरिद गर्नुपरेको थियो।
त्यसैगरी जानकी मन्दिरमा लेजर लाइटसहितको आकर्षक लाइटिङ गर्ने सम्झौता गरेर गैह्रआवासीय नेपाली संघ पनि सम्पर्कविहीन छ।
गतवर्ष असार ९ गते गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्त रामरोशन दासबीच ५ करोडको लगानीमा मन्दिरमा विद्युतीकरण गर्ने लिखित सम्झौता भएको थियो।
गैह्रआवासीय नेपाली संघका अध्यक्ष भट्ट र जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्थ दासबीच भएको सम्झौतामा विवाह पञ्चमी (२०७५ साल मंसिर) सम्ममा मन्दिरमा लाइटिङ सिस्टम जडान गरिसक्ने उल्लेख थियो।
तर लिखित सम्झौता गरेपनि संघका कुनै पदाधिकारीले योजना बारे खोजखवर नलिएको दासले बताए।
‘सुरुमा सम्बन्धित पदाधिकारीसँग सम्पर्क पनि हुन्थ्यो। अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।